Friday, October 24, 2008

लिम्बुवानका लागि भिड्ने तयारी


अरुणपर्ूवका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गर्नुपर्ने आवाज उठाउदै आएका संगठनहरुले लिम्बुवान घोषणा नभएमा राज्यपक्षसँग भिड्ने गरी संरचना तयार गरिरहेका छन् । संघीय लिम्वुवान राज्य परिषद, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्वुवान राज्य परिषद, पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चले स्वयंसेवक समूहको संरचनालाई परिवर्तन गर्दै सुरक्षाकर्मीको जस्तो संरचना बनाइरहेका छन् ।
संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवान भोलिन्टियर्स -एलभी) गठन गर्नुको एउटा लक्ष्य लिम्बुवान स्वायत्त राज्य घोषणा नभएर सशस्त्र युद्ध गर्नुपर्ने अवस्था भएमा सशस्त्र समूहमा बदल्नु रहेको छ । उसले लडेरै राज्य लिनुपर्ने अवस्था पनि आउन सक्ने भएकोले पर्ूवतयारी गर्न यस्तो समूह गठन गर्नुपरेको जनाएको छ । उता मञ्चसम्वद्ध परिषदको पनि त्यस्ते लक्ष्य छ । उसले एलभीलाई विभाजन गरेर जीएलभी -जोग्राफिकल लिम्बुवान भोलिन्टियर्स) र आरएलभी -रेगुलर भोलिन्टियर्स) बनाएको छ ।
परिषदका प्रवक्ता मुकुम नेम्बाङ आरएलभीलाई आवश्यक परेमा हतियार चलाउने तालिम दिइने बताउँछन् । नेम्बाङका अनुसार आरएलभीमा सेल, प्लाटुन, कम्पनी, बटालियन र बाहिनीको श्रेणी बनाइएको छ । जहाँ पाँच जनाको एउटा सेल, १० जनाको प्लाटुन, एक सय जनाको कम्पनी, तीन कम्पनीको एक बटालियन हुन्छ । प्रवक्ता नेम्बाङले लिम्बुवान क्षेत्रमा तीन वटा बाहिनी बनाउने लक्ष्य राखिएको जानकारी दिए । तर, सेनासँग मिल्दो संरचना बनाउने मञ्चको संविधान सभामा समेत प्रतिनिधित्व छ । एलभीका संयोजक राजकुमार नाल्बो संविधान सभा सदस्य हु्न ।
उता राजा ज्ञानेन्द्रको २०६३ बैशाख ८ र ११ गतेको शाही घोषणापछि अरुण पर्ूवको लिम्बुवान स्वतः स्वतन्त्र मुलुक भएको दाबी गर्दै आएको पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चले पनि केएलभी -किरात लिम्बुवान भोलिन्टियर्स) खडा गरेको छ । उसले पनि स्वतन्त्र लिम्बुवानमाथि नेपाल सरकारले हस्तक्षेप गरेमा केएलभीले हतियार उठाउने बताइरहेको छ ।
लिम्बुवान स्वायत्त राज्य माग गर्ने जातीय तथा राजनैतिक संगठनहरु झण्डै दर्ुइ दर्जन भएपनि अन्यले चाहिं राज्यपक्षसँग भिड्नकै लागि भनेर तयारी गरेका छैनन् । तर, संघीय लिम्बुवान राज्य परिषद, मञ्चसम्वद्ध परिषद र पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चले चाहि एलभीलाई बेलाबेलामा तालिमहरु पनि दिइरहेका छन् । उनीहरुको छुट्टै पोशाक पनि तयार गरेका छन् । तर, अहिलेसम्म हतियार चलाउनेसम्वन्धी तालिम दिएका छैनन् । 'हामीले अहिले संगठित गरिराखेका हौं । आवश्यक परेको खण्डमा हतियार चलाउने तालिम पनि दिन्छौं । तर, अहिले एलभी अन्य काममा सक्रिय छ,' संघीय लिम्बुवान राज्य परिषदका केन्द्रिय अध्यक्ष सञ्जुहाङ पालुङवा भन्छन् । शान्तिपर्ूण्ा ढंगले अघि बढ्दा निकास ननिस्केमा मात्र सशस्त्र युद्ध लड्ने बताए ।
तीन वटै संगठनका भोलिन्टियर्स अचेल चन्दा, कर असुल्ने र आवश्यकताअनुसार बजार क्षेत्रमा गस्ती गर्ने र संगठनको अन्य काममा सक्रिय छन् । उनीहरुले पर्ूर्वी पहाडी जिल्लामा जिल्ला निकासी कर संकलन गरिरहेका छन् । स्थानीय स्रोत साधनमाथि आफ्नो अधिकार रहेकोले कर संकलन गरेको उनीहरुको भनाइ छ । संघीय लिम्बुवान राज्य परिषद निकट लिम्बुवान भोलिन्टियर्सले चाहिं बेलाबेलामा अवैध कारोबारको आरोप लगाउँदै सामानहरु नियन्त्रण पनि गर्दै आएको छ ।
संघीय लिम्बुवान राज्य परिषदले चाहिं हरेक जिल्लामा न्याय सम्पादन समिति गठन गरेर नेकपा -माओवादी) कै शैलीमा मुद्दा र विवादहरु मिलाउन थालेको छ । अधिवक्ताहरुलाई नै समितिमा राखेर मुद्दाहरु छिनोफानो गरिदिने गरेको परिषदको भनाइ छ ।

No comments: